काठमाडौं । नक्कली शरणार्थी बनाएर ठगी धन्दा गरेको प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेपछि पूर्वमन्त्रीसमेत रहेका सांसद रायमाझी सम्पर्कविहीन भएका हुन् ।
बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडौं जाने भनेर हिँडेका उनी राति ९ बजेपछि सम्पर्कविहीन भएका प्रहरी स्रोतले बताएको छ । रायमाझीले भैरहवाबाट काठमाडौं आउन बुधबार साँझका लागि काटेको जहाजको टिकटसमेत रद्द गरेको बुझिएको छ ।
‘राति ९ बजेपछि उहाँ सम्पर्कविहीन हुनुभएको छ । मोबाइल पनि अफ गरिएको छ’, प्रहरी स्रोतले भन्यो, ‘सम्भावित स्थानमा प्रहरी अलर्ट भएर बसेको छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार नै बुटवलबाट पक्राउ गरिसकेको छ । बुधबार जिल्ला अदालत काठमाडौंले रायमाझी बाबुछोरालाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।
यो प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसहितका व्यक्तिहरू पक्राउ परिसकेका छन् ।