• बैशाख २७ २०८३, आईतवार

राजतन्त्र फर्काउने अभियानमा आउन ज्ञानेन्द्र शाहको आह्वान

बैशाख २० २०८०, बुधबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठ्न आग्रह गरेका छन् । बुधबार नेपालगञ्जमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रका बेलामा भएका विकासको फेहरिस्त सुनाउँदै उक्त आग्रह गरेका हुन् ।

‘अब म भन्छु अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठी र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ,’ शाहले भने, ‘यसको निम्ति के पुरुष के महिला के आजका जाँगरिलो युवा के अनुभवी बुढाबुढी सबै अब जुट्नु पर्दछ ।’ उनले सोही स्थानमा उभिएर आफ्ना बाबुले नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन गरेको स्मरण गरे । लामो समयपछि आज आफू त्यस्तै कुरा गर्न विवश भएको उनको भनाइ छ ।

‘आजभन्दा चौसठ्ठी वर्षअधि यही भूमीमा उभिएर हाम्रा स्वर्गबासी बुबाज्यूले नेपालको तत्कालीन राज्य विधिका बारे नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन भएको हो,’ शाहले भने, ‘लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ ।’

वि.सं. २००० देखि २०४० को दशकसम्म नेपालमा पूर्वाधारको विकासमा उल्लेख्य कामहरू भएको शाहको टिप्पणी थियो तर, यता आएर ती पूर्वाधार ती औद्योगिक आधार सबै खाने चेतना लहरले निश्चित आकार लिन नसकेको उनले बताए ।