• बैशाख २७ २०८३, आईतवार

आफूविरूद्ध पक्राउ पुर्जी जारी गरेकोबारे जानकारी नभएको सचिव टोपबहादुर रायमाझीको भनाई

बैशाख २० २०८०, बुधबार

काठमाडौँ । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा आफूविरूद्ध पक्राउ पुर्जी जारी गरेकोबारे जानकारी नभएको बताएका छन्।

बुधबार दिउँसो जिल्ला अदालत काठमाडौंले प्रतिनिधि सभा सदस्यसमेत रहेका रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको घटनामा रायमाझीको पनि सम्बन्ध देखिएकाले काठमाडौं जिल्ला प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी मागेको थियो।

पक्राउ पुर्जी जारी भएपछि एमाले सचिव रायमाझीले आफू अहिले अर्घखाँचीको कार्यक्रममा भएको र अहिलेसम्म कसैले आफूलाई यो विषयमा सोधपुछ पनि नगरेको बताए।

यता दुलालले नै मन्त्रालयमा रहेका राईसँग समन्वय गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

२०७६ सालमा गृह मन्त्रालयले भुटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनाएको थियो। उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो।

कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाएपनि सार्वजनिक गरेको थिएन। जसले गर्दा प्रतिवेदनमै नक्कली भुटानी शरणार्थी समावेश गरिएको हो कि भन्ने आशंका थियो।

अनुसन्धानकै लागि जिल्ला प्रहरी परिसर काठमाडौंले मन्त्रालयसँग प्रतिवेदन माग गरेको थियो। उक्त प्रतिवेदन मन्त्रालयले गत चैत २८ गते परिसरलाई उपलब्ध गराइएको थियो।

परिसरले उनीहरूमाथि ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।