काठमाडौं । तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । यस्तै अन्य ५ जना घाइते भएका छन् । बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा ८ जना घाइते भएको चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । मृत्यु हुनेमा आयुस भुजेल, चेतबहादुर घर्ती र सनबहादुर भुजेल रहेका छन् । उनका अनुसार अन्य ५ जना घाईतेहरुको उपचार भइरहेको छ ।
घाइतेहरुमा आयुसा भुजेल, जस्मिन भुजेल, ईश्वर भुजेल, समिर भुजेल र सन्तोष भुजेल रहेका छन् । यसैबीच दुर्घटनाको बिषयलाई लिएर पूर्णरुपमा बन्द रहेको राजमार्ग अहिले दिउँसो सुचारु भएको खाँणले बताए ।