• जेष्ठ १३ २०८३, बुधबार

नाबालिका करणीको आरोपमा प्रहरी हवल्दार पक्राउ

बैशाख १९ २०८०, मंगलवार

काठमाडौं । कञ्चनपुर प्रहरीले एक जना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । नाबालिकलाई जर्बजस्ती करणी गर्न खोजेको आरोपमा भीमदत्त नगरपालिका-९ ब्रम्हदेवका सशस्त्र प्रहरी हवल्दार अमरसिंह बुढालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्रहरी हवल्दार विरुद्ध जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । बुढा झलारीस्थित सशस्त्र प्रहरीको ३५ नम्बर गणमा कार्यरत रहेका थिए । बुवा बिरामी भएको बहाना बनाएर उनी १५ दिनको घर विदामा आएका थिए ।

आइतबार मध्यरातमा मदिरा सेवन गरी बुढा १५ वर्षीया नाबालिका सुतेको घरमा जर्बजस्ती प्रवेश गरेका हुन् । ती नाबालिका कराएपछि घरका अन्य सदस्य र छिमेकीले थाहा पाएको प्रहरीले जनाएको छ । बुढा मोबाइलसहित केही सामान त्यहीँ छाडेर भागेका थिए । पीडित नाबालिकका आफन्तले सोमबार प्रहरी कार्यालयमा उजुरी दिएपछि बुढा पक्राउ परेको डिएसपी डाँगीले बताए ।

सशस्त्रको झलारीस्थित ३५ नम्बर गणका प्रमुख एसपी प्रेम रावलका अनुसार मुद्दा दर्ता भएपछि बुढा स्वत निलम्बनमा परेका छन् । ‘नेपाल प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, दोषी भेटिएमा कानुन बमोजिम हदैसम्मको कारबाही होस्,’ उनले भने । एसपी रावलका अनुसार बुवालाई क्यान्सर भयो, उपचारका लागि चितवन लैजाने भन्दै बुढाले विदा स्वीकृत गराएका थिए ।