• जेष्ठ १३ २०८३, बुधबार

नर्स अनुमा आत्महत्या प्रकरण : डा. ढकाल पक्राउ

बैशाख १९ २०८०, मंगलवार

काठमाडौं । वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धानका क्रममा प्रहरीले डा.सुजन ढकाललाई पक्राउ गरेको छ । अनुमाको शव आइतबार डा.ढकालको बालाजुस्थित कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

ढकाललाई आत्महत्या दुरूत्साहनको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

वीर अस्पतालमा कार्यरत आठौं तहकी स्थायी नर्सिङ अधिकृत अनुमा मृत भेटिएको स्थानबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको थियो । प्रहरी अधिकृतहरुका अनुसार नोटमा विवाह नभएको विषय उल्लेख गरिएको छ । पारिवारिक स्रोतका अनुसार डा.ढकाल र श्रेष्ठ लामो समयदेखि प्रेम सम्बन्धमा थिए । यसबारे परिवारलाई पनि जानकारी थियो र आउजाउ भइरहने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय श्रेष्ठले विवाह गर्न पटकपटक भन्दा ढकालले नमान्ने गरेको पाइएको प्रहरीले जनाएको छ । डा.ढकाल कोशी अस्पताल विराटनगरमा कार्यरत थिए । पछिल्लो केही समययता नर्स श्रेष्ठ मानसिक समस्यामा रहेको अस्पताल स्रोतले जनाएको छ । उनी औषधि सेवन गर्दै मनोसामाजिक परामर्श पनि गराइरहेकी थिइन् ।

उनको मृत्यु भएपछि परिवारले डा. ढकाल र उनका बुबाविरूद्ध किटानी जाहेरी दर्ता गराएको थियो ।