काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका डा. ईन्द्रजित राईले १ करोड ५० लाख रुपैयाँ लिएको भेटिएको छ ।
डा. राई मंगलबार ललितपुरको ठेचोस्थित सौखेलबाट पक्राउ परेका हुन् । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार समेत रहेका राईले १ करोड ५० लाख नगद लिएको भेटिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए ।
प्रहरीले यसअघि पक्राउ परेका सानु भण्डारीबाट बरामद गरेको डायरीबाट डा. राईले रकम लिएको खुलेको हो । ललितपुर महानगरपालिका वडानम्बर-२३ का स्थानीय भण्डारीले आफ्नो डायरीमा ३ पटक डा. राईलाई नगद लिएको उल्लेख गरेका छन् ।
डायरीमा उल्लेख गरिएको विवरण अनुसार डा.राईले ५० लाख, ३५ लाख र ६५ लाख गरेर ३ किस्तामा १ करोड ५० लाख लिएको अनुसन्धान अधिकृतहरूले दाबी गरेका छन् । भण्डारीले आफ्नो डायरीमा रकम लिएको व्यक्तिको नाममा ‘डा. इन्द्रजित सर’ सम्बोधन गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरुसँगको बयानमा भण्डारीले उनलाई ५ करोड ५० लाख दिएको जिकिर गरेका छन् । समाचार तयार गर्दासम्म भण्डारीको बयान जारी छ । शरणार्थीको नाममा ठगीधन्दा चलाएको आरोपमा २०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो ।
चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । शरणार्थीको नाममा ठगीधन्दा चलाउने केशव दुलाल र सानु भण्डारीसँग डा. राईको ‘कनेक्सन’ देखिएको छ । रामबहादुर थापा गृहमन्त्री हुँदा उनको सुरक्षा सल्लाहकार रहेका डा.राईले ‘गृहमा मिलाउनुपर्छ’ भनेर रकम लिएको सानु भण्डारीले बयान दिएका छन् ।
ठगीमा संलग्न आरोपमा डा.राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । ५० वर्षीय भण्डारीले टोपबहादुर रायाझीका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका छन् । नक्कली परिचयपत्र बनाएर आफूहरुलाई ठगेको आरोपमा १ सय ४५ जनाले प्रहरीमा उजुरी दिएका छन् । उजुरकर्ताको संख्या १ सय ४५ पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) डा.मनोज केसीले बताए ।
शरणार्थी परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा आफूहरु ठगिएको भन्दै पीडितहरुले २०७९ जेठ १८ मा पहिलो पटक प्रहरीमा जाहेरी दिएका थिए । उजुरी परेपछि सो प्रकरणमा उच्चपदस्थहरु नै संलग्न भएको भन्दै अरोपीहरुले आफूलाई पक्राउ गर्नबाट रोकाएका थिए ।
आरोपीहरुले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रातोपाटीमा समाचार छ ।