काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच ध्रुवीकरणको कोर्ष अगाडि बढाएको झन्डै चार महिना पुगेको छ ।
देशभर एकै चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम पश्चात् पार्टी ध्रुवीकरको कोर्ष आरम्भ भएको थियो । तथापि यसले हालसम्म मूर्तरूप पाउन भने सकेको छैन । यी दुई दलले अपेक्षा गरे विपरीत प्राप्त मतपरिणामलगत्तै ध्रुवीकरणको बहस सतहमा आएको थियो ।
एकीकृत समाजवादीले दुई महिना अगावै विचार मिल्नेसँग दलगत ध्रुवीकरणका लागि निर्णय गरिसकेको थियो । जसपाले पनि सोही निर्णयलाई अगाडि सारेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र संविधानको रक्षार्थ खटिने जुनसुकै दलसँग जसपाले ध्रुवीकरण गर्नसक्ने निर्णय गर्यो । उसले पनि यो निर्णय दुई महिना अगाडि नै गरिसकेको थियो ।
यद्यपि एकीकृत समाजवादीले ध्रुवीकरणको विषयलाई खासै बढवा दिएको देखिँदैन । पार्टीभित्रै अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको आन्तरिक बेमेलले ध्रुवीकरण गौण बनेको छ ।
अध्यक्ष नेपाल नेकपा (माओवादी केन्द्र) लगायतका केही साना कम्युनिस्ट पार्टीसँग दलगत ध्रुवीकरणको पक्षमा छन् । तर, खनाल एमालेसँग गर्नुपर्ने पक्षमा देखिन्छन् । उनले विभिन्न सार्वजनिक कार्यक्रम तथा सञ्चार माध्यममा पार्टीले गर्ने गम्भीर निर्णय नेपालले एक्लौटी गरेको आरोप लगाउँदै आएका छन् ।
यसअघि राष्ट्रपति बहस सतहमा आउँदा होस् या माओवादी केन्द्र नेतृत्वको सरकारलाई समर्थन गर्दा होस् । पार्टीले गम्भीर निर्णय लिँदा नेपाल एक्लैले निर्णय लिने गरेको आरोप सम्मानित नेता खनालले लगाएका थिए । तथापि खनालको आरोप नेपालले खण्डन गरेनन् ।
त्यस्तै जसपाले माघमा आफूसँग विचार मिल्ने दलहरूसँग धमाधम ध्रुवीकरणको प्रस्ताव अघि बढाएको थियो । उसले आफूभन्दा कनिष्ठ मात्रै नभएर संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलहरूसँग एकताका लागि प्रस्ताव गरेको थियो ।
तर, जसपासँग उल्लेखित दलमध्ये एकीकृत समाजावादी ध्रुवीकरणप्रति सकारात्मक देखियो । तत्पश्चात् दलगत ध्रुवीकरणका संयोजक राजेन्द्र श्रेष्ठले विज्ञप्ति नै जारी गरेर आजको आवश्यकता टुटफुट नभएर ध्रुवीकरण भएको बताए ।
एकता नै बल हो । बलको जगमा टेकेर हामीले आफ्नो अस्थित्वलाई उचो राख्ने, जनताको चाहना पनि दलहरू एकै ठाउँमा उभिएर विकासको मूल फुटाउन भन्ने अपेक्षा छ । सोही अनुरूप यस अभियानलाई निरन्तरता दिने संयोजक श्रेष्ठले बताए ।
यसअघि हामीले एकीकृत समाजवादीसँग ध्रुवीकरणको प्रस्ताव गरेका छौँ । उसले पनि यसलाई सकारात्मक ढंगले लिएको छ । त्यसका लागि हाम्रो गृहकार्य शुरु भईसकेको छ । जसपा र एकीकृत समाजवादी लगभग एकताको सन्निकटमा छन् । साठ्ठी प्रतिशत एकता कार्य सम्पन्न भएको छ । सकभर छिट्टै एकीकृत समाजवादी र जसपा एक ठाउँमा उभिने उनको भनाइ छ ।
एकीकृत समाजवादीले पनि जसपाले गरेको ध्रुवीकरण प्रस्ताव स्वीकारेको बताएको छ । पूर्वमन्त्री तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग आफ्नो पार्टी एकता गर्न तयार भएको बताउँछन् ।
पछिल्लो समय एकीकृत समाजवादी र जसपाका दोस्रो वरियताका नेताहरू दलगत ध्रुवीकरणको विषयमा सामान्य छलफलमा जुटेका छन् । गम्भीर छलफल हुन भने नसकेको दुवै दलका नेताहरू बताउँछन् । यद्यपि दलगत ध्रुवीकरणको पक्षमा गम्भीर भए पनि उपनिर्वाचनकै कारण विलम्ब भएको जसपा बताउँछ ।
२०७४ को निर्वाचनमा मधेसको सबैभन्दा ठूलो दल बनेको जसपा गत निर्वाचनको परिणामले पश्चात् खुम्चिएको छ । निर्वाचनले उसको आकार मात्रै खुम्च्याएन, पार्टी अध्यक्ष उपेन्द्र यादव पराजयको सिकार बन्नुपर्यो ।
त्यसयता जसपा धर्मरायो । पाँच वर्षपछि हुने निर्वाचनको सिकारबाट बञ्चित हुन जसपाले ध्रुवीकरणको प्रस्ताव अघि बढाएको हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ ।
स्रोतका अनुसार माघ अन्तिम सातायता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच कुनै संवाद भएको छैन । यसअघि यादव बारा–२ को उपनिर्वाचनमा व्यस्त रहेका थिए । त्यसयता अध्यक्षद्वय नेपाल र यादवबीच कुनै औपचारिक तथा अनौपचारिक संवाद भएको छैन ।