काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले नेतृत्व लिएको तीन वर्षमै देशले असाधारण प्रगति गरेको दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेले नेतृत्व गरेको तीन वर्षमा देशले असाधारण प्रगतिको मार्ग लियो। भूकम्पपछि सात लाखभन्दा बढी घर निर्माण गरेर त्यसैबेला पीडितहरुलाई हस्तान्तरण गर्यो। एकीकृत बस्ती बनायो।’
उनले विद्यालय, विश्वविद्यालय, प्रहरी कार्यालय, सरकारी अन्य कार्यालयका साथै सांस्कृतिक सम्पदाहरु पुनर्निर्माण गरेको दाबी गरे। आफ्नो पालामा रानीपोखरी र धरहरासमेत बनाएको स्मरण गर्दै ओलीले सही नीतिका साथ देशलाई अगाडि बढाउन एमालेसँग सिक्नुपर्नेमा जोड दिए।
अहिले सरकार कर्मचारीहरुलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगेको भन्दै उनले सामाजिक अध्ययन, सुधार र विकासका काम पछाडि परेको बताए। ‘अब त कर्मचारीलाई तनखा खुवाउन समेत नसक्ने अवस्था भो। सरकार छ है भन्ने समेत भएन,’ उनले भने।’