आज २०२३ मे १, १३४औं अन्तर्राष्ट्रिय मजदुर दिवस परेको छ । यही अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले संसारमा भइरहेका मजदूर आन्दोलनहरुप्रति ऐक्यवद्दता जनाएको छ । केन्द्रका तर्फबाट अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै आजको संसार भर मनाइन लागेको यो दिवसमा ऐक्यवद्दता जनाएका हुन् ।
‘आज संसारका श्रमिक मजदुरहरुले आफ्नो स्थापनाको १३४औं अन्तर्राष्ट्रिय मजदुर दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यस ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पुँजीवादी राज्य व्यवस्थाको चिहान खन्ने शक्तिको रुपमा रहेको आधुनिक श्रमिक मजदुरहरुको यस ऐतिहासिक १३४औं अन्तर्राष्ट्रिय मजदुर दिवसप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।’
केसीले विज्ञप्तिमा क्रान्ति सम्पन्न गर्नका लागि सबै क्रान्तिकारी पार्टीहरुलाई साम्राज्यवाद विरोधी मोर्चा बनाई एकतावद्द भएर अगाडी बढ्न अनुरोध गरेको छ ।
केसी लेख्छन्,‘साथै यस ऐतिहासिक दिनको अवसर पारेर विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको विश्वभर स्थापित हाम्रो नेतृत्वदायी संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले संसारभर क्रियाशील रहँदै आएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई ‘साम्राज्यवाद विरोधी संयुक्त मोर्चा’ गठन गरेर विश्व साम्राज्यवादको विरुद्ध संयुक्त रुपमा लड्नका लागि एकताबध्द भएर अगाडि बड्न हार्दिक अनुरोध गर्दछ । र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले चाल्ने विश्व साम्राज्यवाद विरोधी संयुक्त संघर्षको पक्षमा ऐक्यबद्धता प्रकट गर्ने र त्यसप्रति लेख्ने, बोल्ने र प्रचारप्रसारका साथै अन्य सरसहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।’
मजदूर दिवसको अवसर पारेर आज नै नेकपा बहुमत र नेकपा क्रान्तिकारी माओवादीबीच पार्टी एकता हुँदैछ । काठमाडौंको स्काई ब्यांक्वेटमा एक सभाको आयोजना गरी १२ बजे दिउसो उनीहरुले पार्टी एकताको घोषणा गर्दैछन् ।