• बैशाख २७ २०८३, आईतवार

आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने वैज्ञानिक महावीर पुनको अडान

बैशाख १६ २०८०, शनिबार

काठमाण्डौ। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने बताएक छन् । हिजोदेखि धर्ना थालेका उनले माइतीघर चोकको सडकमै रात बिताएका छन् ।

गएराति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५र२० जना साथीहरुले साथ दिएको बताए। अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उनको भनाइ छ । उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरेका छन् ।

देशका प्रतिभाशाली विद्यार्थी तथा भावी सन्ततिका लागि आफूले आन्दोलन गर्नुपरेको उनले बताएका छन् । आविष्कार तथा नयाँ प्रवर्द्धनको काम गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने र अर्थतन्त्र सुधार नभएसम्म नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न नसकिने उनको भनाइ छ ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउन तथा विकास बजेटको कम्तीमा एक प्रतिशत यस क्षेत्रमा छुट्याउन उनको माग छ । माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन हिजोदेखि माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक महावीर पुनलाई युवाहरुले साथ दिएका छन् ।