• बैशाख २७ २०८३, आईतवार

कांग्रेस नेता डा. भण्डारी आइतबार स्वदेश फर्कदै

बैशाख १६ २०८०, शनिबार

काठमाडौं। भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारी आइतबार स्वदेश फर्कदै छन् ।डा. भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा.भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।

आगलागीमा परी सांसद डा. भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा.भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

पछिल्लो समय स्वास्थ्यमा सुधार आएपछि उनलाई नेपाल ल्याउन लागिएको डा.भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । अहिले उनी बोल्न र हिँड्न थालेका छन् । नेपाल फर्केसँगै डा.भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानुपर्नेछ ।

उनी नेपाल वायुसेवा निगमको विमानमार्फत साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।