• बैशाख २७ २०८३, आईतवार

ओलीलाई पूर्वराजाले दिए जवाफ,‘हिमानीले सामाजिक सञ्जाल नै चलाउँदिनन्’

बैशाख १५ २०८०, शुक्रबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक सञ्जाल नचलाउने बताएको छ । एमाले अध्यक्ष केपी ओलीले हिमानीको फेक अकाउन्टलाई उद्धृत गर्दै बिहीबार पूर्वराजा ज्ञानेन्द्रलाई आफूसँग निहुँ नखोज्न भन्दै आक्रोश व्यक्त गरेका थिए ।

बुधबार झापा पुगेका ओलीलाई कोशी नामकरणविरूद्ध आन्दोलन गरिरहेका पहिचानवादीहरूले कालोझन्डा देखाएका थिए भने एक ठाउँमा उनी सहभागी भएको कार्यक्रममा ढुंगामुढासमेत भएको थियो ।

हिमानीको उक्त फेक अकाउन्टले ढुंगामुढा भएको भिडिओ राख्दै ओलीलाई ठिक भएको लेखेको थियो । त्यसैको हवाला दिँदै ओलीले छोरा-बुहारीलाई अगाडि सारेर पूर्वराजा ज्ञानेन्द्रले फुरफुर गरेको बताएका थिए । ‘हामीले धेरै हिसाब-किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब-किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थियो ।

पूर्वराजा शाहको सचिवालयले यसअघि नै राजपरिवारका सदस्यले सामाजिक सञ्जाल नचलाउने स्पष्ट पारिसकेको दोहोर्याएको छ ।
पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानीका नाममा फेसबुक र ट्विटरमा विभिन्न फेक अकाउन्टहरू सक्रिय छन् ।