काठमाडौँ । आज संघीय संसद्का दुवै सदनको बैठक बस्ने भएको छ । संघीय संसद् भवन, बानेश्वरमा प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक अपराह्न ४ : १ मिनेटमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले शुक्रबार अपराह्न ४ बजेर १ मिनेटमा सारिएको थियो । बिहीबार तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो ।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यसअघि प्रतिनिधिसभा बैठक संसदीय सुनवाइ समितिमा सदस्यहरू मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि विशेष समिति गठन गर्ने तथा संवैधानिक परिषद् सम्बन्धी ऐन पारित गर्ने लगायतका कार्यसूची राखेर बैठक बोलाइएको थियो । तर, मुख्यतः संवैधानिक परिषद् ऐनमा प्रधानमन्त्रीलाई विशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा सो विधेयक कार्यसूचीबाट हट्न पुगेको थियो ।