काठमाडौं । कांग्रेस सांसद गगन थापाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निणर्य गलत भएको बताएका छन् । बिहीबार ट्विट गर्दै थापाले सरकारको उक्त निणर्य गलत भएको भन्दै रोक्नुपर्ने माग गरेका हुन् ।
‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निणर्य गलत छ, रोक्नुपर्छ’, उनले भनेका छन् ।
यस्तै, उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेको भन्दै सरकारलाई रकम बाँड्न होइन पीडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुंग्याउने विषयमा केन्द्रित हुन आग्रह गरेका छन् ।
‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेकोले सरकार रकम बाँड्न होइन, पीडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुंग्याउन केन्द्रित होस्’, उनले भनेका छन् । माओवादीका अयोग्य लडाकूलाई राहत दिन सरकारले कार्यविधि तयार पारेको छ । गृह मन्त्रालयले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिनेसम्बन्धी कार्यविधि तयार पारेको हो ।
गत चैत ६ गते मन्त्रिरिषदले कार्यविधि बनाउने निणर्य गरेको थियो । अर्थ मन्त्रालयले कार्यविधि जारी गर्न चैत २ गते नै सहमति दिएको थियो ।