• बैशाख २७ २०८३, आईतवार

प्रचण्डले अझैपनि कम्युनिष्ट पार्टी निर्माणमा जोड दिन्छु भन्नु गलत हो : विमलेन्द्र निधि

बैशाख ११ २०८०, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अझै पनि कम्युनिस्ट पार्टी निर्माणको कामलाई प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् ।

आइतबार (हिजो) कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा केही दिन भित्रै गठन गरी नेकपा पुनर्विजित गराउने घोषणा गरेका थिए । नेता निधिले त्यसप्रति असन्तुष्टि जनाउँदै ठूलो क्रान्ति गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था दल निर्माणका लागि हो र ? भनी प्रधानमन्त्री प्रचण्डलाई प्रश्न समेत गरे ।

सोमबार काठमाडौँमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उनले सामाजिक-आर्थिक विकास र प्रगतिका लागि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकोमा गर्व गर्ने नेताहरुले दल निर्माणलाई प्राथमिकता दिन नमिल्ने तर्क समेत गरे ।

नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो संघीय लोकतान्त्रिक गणतन्त्र हुने उल्लेख गर्दै त्यसैलाई प्राथमिकता दिएर अघि बढ्ने गरी बहस गर्नुपर्नेमा पनि जोड दिए ।

नेता निधिले मुलुकमा कम्युनिस्ट शासन नरहेकाले वर्तमान संविधानलाई कार्यान्वयन गर्दै पालना गरेर अघि बढ्नुको विकल्प नरहेको पटकपटक दोहोर्याए ।