काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सोमबार पनि अन्तिम सुनुवाइ पुरा हुन सकेन । सो मुद्दामा न्यायाधीश दीपक ढकालको इजलासमा पेशी परेपनि सुनुवाइ सकिएन । जाहेरवाला गौशाला नाम परिर्वतनको पक्षका कानुन व्यवसायी चार घन्टा बहस गरेका थिए।
उनीहरुले लामिछानेमाथि नाबालिग बलात्कारमा दोषी ठहर गर्दै सजाय हुनुपर्ने माग गरेका थिए। चार घन्टा बहसपछि जाहेरवालाकै दुई जना कानुन व्यवसायी बहसका लागि बाँकी रहेका थिए। उनीहरुले मुद्दा हेर्दा हेर्दै राखेर टुंग्याउन माग गरे।
न्यायाधीश ढकालले इजलासबाट आफूले हेर्दाहेर्दै राखेर सुनुवाइ गर्ने नगरेका भन्दै तर्किएपछि कानुन व्यवसायी नाजवाफ भए । न्यायाधीश ढकालले हेर्दा हेर्दै राख्न नमानेपछि अर्को पेसी नयाँ हुने भएको छ। गोलाप्रथाद्वारा पेसी तोकिँदा नयाँ इजलासमा पर्ने सम्भावना रहेको छ ।