काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् ।
विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उनले उल्लेख गरे । त्यसलाई छिट्टै घोषणा गरेर अघि बढ्ने उनको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्नेहरूबीच एउटै पार्टी हुने बताए ।
मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिस्ट शक्तिहरूको विकल्प नभएको भन्दै उनले सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन आग्रह गरे ।
उनले नेकपा मसाल, नेकपा संयुक्तलगायत साना वाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आह्वान गरे । अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिस्ट मात्र भएको भन्दै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे ।