• जेष्ठ १३ २०८३, बुधबार

मनाइयो पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस

बैशाख १० २०८०, आईतवार

काठमाडौँ । राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको ३० औं स्मृति दिवस मनाइएको छ ।काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आज ३० औं पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो ।

काठमाडौंको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी ३० औं स्मृति दिवस मनाइएको छ ।स्मृति दिवसको अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी राष्ट्रिय विभुति शेर्पाकी छोरी आङ फुटी शेर्पाले शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै संसारभरका महिलाका लागि पासाङ ल्हामु प्रेरणाको श्रोत भएको बताइन् ।

उनले फाउण्डेशनको तर्फबाट पनि हिमाल आरोहणको चाहना राख्ने महिलालाई आवश्यक सहयोग गरिरहेको र राज्यले पनि यस्ता सहयोगका कार्यमा थप अग्रसरता देखाउन आवश्यक रहेको बताइन् ।

त्यस्तै पासाङ ल्हामु प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष लाक्पा फुटी शेर्पाले पासाङ ल्हामु शेर्पाका सपनाहरु आज आएर साकार भइरहेको देख्न पाउँदा खुशी लागेको बताइन् ।

पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुन् । उनले २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यो भन्दा पहिला तीन पटकसम्म सगरमाथा चढ्ने प्रयास असफल भएको थियो । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कने क्रममा उनको निधन भएको थियो ।