• जेष्ठ १३ २०८३, बुधबार

‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

बैशाख ९ २०८०, शनिबार

काठमाण्डौ । ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको आज बिहान तीन बजेर ४५ मिनेटमा ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए।

लिम्बू छ महिनादेखि बिरामी थिए । झापामा रहेको बिएण्डसी अस्पतालमा ठीक नभएपछि उनी विगत तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए । लिम्बूलाई नखिपोटमा रहेको घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो । तर एक महिनायता भने उनलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो ।

लिम्बूको अन्त्येष्टि दमकमा गरिने उनका छोरा मोहनले जानकारी दिए । दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाण्डौ ल्याइएको थियो । उनी मिर्गौला र मुटु सम्बन्धी रोगबाट पीडित थिए ।