काठमाडौं । गायक प्रकाश सपुतको गीत सकम्बरी यतिबेला चर्चामा छ । सात दिनमै एक करोड भ्युज पाएको यो गीतको चर्चा सँगै विवाद पनि भइरहेको छ ।
गीतले रात्रिकालीन व्यवसायलाई गलत रूपमा प्रस्तुत गरेको भन्दै रात्रिकालीन मनोरञ्जन व्यवसायी सङ्घले विज्ञप्ति नै निकालेर आपत्ति जनाएपछि गायक सपूतले प्रष्टीकरण दिएका छन् । सपुतले भनेका छन् -‘मेरो सृजनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, सबैसँग क्षमा चाहन्छु । म पनि यही समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यही निर्माण भएको हो । त्यसैले कमजोरी छैन भन्दिन, छ ।’
हेर्नुहोस् प्रकाश सपूतको प्रष्टीकरण जस्ताको त्यस्तै ।
श्री अध्यक्ष ज्यु !
रात्रिकालीन मनोरञ्जन व्यवसायी सङ्घ, काठमाडौँ ।
पछिल्लो गीत “सकम्बरी” ले उठाउन खोजेको महिला यौन हिंसाको विषय गम्भीर र साझा विषय हो । यो सबै क्षेत्र मा छ । अझ भनौँ विश्वव्यापी छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ प्रवृत्ति विशेष छ । त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वाभाविक हो । र कुनै अर्को क्षेत्रमा छँदै छैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारीक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्रीको रूपमा बुझिदिनु होला । यदि रात्रिकालीन मनोरञ्जन व्यवसायी (दोहोरी साँझ) हुँदैनथ्यो भने म एउटा कलाकारको रूपमा स्थापित हुँदैन थिए । म सधैँ ऋणि छु । आभारी छु । र साथै ईमान्दारीताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुदैन्थ्यो भने ‘सकम्बरीको’ कथा पनि मसँग हुँदैनथ्यो । गीत र भिडियोलाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरू आएपछि म सुरुमा अलिकति झस्किए । तर अहिले म ख़ुशी छु । तपाईंहरु रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ । ५ वर्ष साँझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरूको सामना गरेको छु । तर त्यहीँबाट म जस्तै थुप्रैले आफ्नो जीवनको लय भेटायौं र अगाडि बढ्यौं । त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामी भित्र पनि राम्रा र नराम्रा पक्ष र प्रवृत्ति छन् त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन् भंयकर पक्षपात छ । ठुलो समस्या छ । यसरी समस्या सबैतिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने, रोजगार सिर्जना गर्ने, आर्थिक रूपमा सम्पन्न, हिंसा रहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाईं हाम्रो प्रयास हो । यसमा अझै धेरै भूमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौं त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन् । त्यसैले यो देशकै समस्या हो ।
खैर, मेरो सृजनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ सबैसँग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छँदैछैन, कसैलाई असफल बनाएर आफू सफल हुनु छँदैछैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन । म पनि यही समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यही निर्माण भएको हो । त्यसैले कमजोरी छैन भन्दिन । छ । तर सकि नसकि र जानि नजानि गर्न खोजेको चाहिँ समाजका अँध्यारा कथाहरू देखाएर उज्यालोतिर लाग्न प्रेरित गर्ने भन्ने हो । रात्रिकालीन मनोरञ्जन व्यवसाय मात्रै होइन देशका सबै क्षेत्रलाई, सबै अङ्गलाई मर्यादित बनाउन, सफल र समृद्ध बनाउन तपाई हामी सबैको भूमिका उत्तिकै महत्वपूणर् छ ।
बाँकी, म फर्किएपछि दोहोरी साँझमा बसेर समीक्षा गरौंला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउला म ॥ कुनै मिठो भाका छान्दै गर्नु होला । धन्यवाद !
प्रकाश सपुत
अमेरीकाबाट