बारा । कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित ३ जनालाई नक्कली नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ गरिएको छ ।
वंशजको आधारमा मावली हजुर बुबाबाट नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा गरिएको हो । वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् । रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुले पछि उनीहरू पक्राउ परेका हुन् ।
गोप्य उजुरीको आधारमा उनीहरू पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए।