• बैशाख २७ २०८३, आईतवार

गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिँदै

बैशाख ७ २०८०, बिहीबार

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार दोस्रोपटक विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक शनिबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।

गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले पुस २९ गते पहिलोपटक विश्वासको मत लिएका थिए ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।

६० सदस्यीय प्रदेश सभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, माओवादी केन्द्रका ८, राप्रपाका २ तथा स्वतन्त्र १ सांसद छन् ।