• बैशाख २७ २०८३, आईतवार

भूसालले लगाए ओलीलाई यदुवंशी मुसलको आरोप

बैशाख ६ २०८०, बुधबार

काठमाडौं । नेकपा एसका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् ।

बुधबार काठमाडौंमा सो पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिस्टमा मुसल पैदा भएको बताए ।

उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको बताए । उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद विघटन गरेबाट सुरु भएको जिकिर गरे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको टिप्पणी गरे । उनले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिस्पर्धा हुँदा नराम्राहरुले जित्ने बताए ।

महासचिव भुसालले राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरी नजिक रहेको बताए ।