काठमाडौं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार डा. कमरुल्लाह अन्सारीले विभिन्न दलका नेताले बारा–२ लाई भोट किन्ने कारखाना बनाएको आरोप लगाएका छन् ।
चुनाव प्रचारका क्रममा घरदैलो अभियानमा रहेका उनले चुनाव जितेर गएका पूर्व सांसदहरुले राम्रोसँग काम नगर्दा जनतामा निराशा व्याप्त रहेको बताए । उनले भने, ‘बारा निर्वाचन क्षेत्र नं २ लाई नेताहरुले भोट किन्ने कारखाना जस्तो बनाइदिएका छन्, भोट किनेर चुनाव जित्ने, अनि जितेर गइसकेपछि जनता कहाँ कुन अवस्थामा छन्, कुनै सोधपुछ छैन ।’
मंसिर ४ गते सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले बारा–२ मा १ हजार १११ मत प्राप्त गरेको थियो । यद्यपि अन्सारी यस पटक आफूलाई जनताले रुचाइरहेको दाबी गर्दछन् ।
उनले यसअघि बारा–१ को (ख) मा प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रुपमा ७०८ मत प्राप्त गरेका थिए । उनले निर्वाचनमा आफ्नो मुख्य प्रतिस्पर्धी ५ दलीय गठबन्धनका उम्मेदवार उपेन्द्र यादव भएको दाबीसमेत गरे । उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहा र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल आफ्नो प्रतिस्पर्धी नै नरहेको जिकिर गरे ।