• जेष्ठ २७ २०८३, बुधबार

प्रमको भारत भ्रमणका बेला गण्डक र कोशीले गर्ने कटान र डुबानको विषय उठाइयोस् : सांसद विनोद चौधरी

बैशाख ५ २०८०, मंगलवार

काठमाडौं । कांग्रेस सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्वपूर्ण एजेण्डा बनाउन माग गरेका छन् ।

उनले गण्डक, सुस्ता र कोशीका कारण हुने डुबान र कटानबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै स्थायी समाधान खोज्नुपर्नेमा जोड दिए ।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै चौधरीले ५० वर्षदेखि बर्दघाट सुस्ता पश्चिममा हरेक वर्ष सुस्ता र गण्डकका हजारौं परिवार र खेतबारी डुबानमा पर्ने गरेको बताए ।

‘अर्बौंको क्षति हुन्छ । भारत र नेपालका बीचमा पचास वर्ष पुराना संरचना पुनर्निर्माणका लागि कुनै द्विविधा छैन । पटकपटक सहमति सम्झौता भएका छन्,’ उनले भने,‘प्रधानमन्त्रीको आसन्न भ्रमणमा यो विषय अत्यन्तै महत्वपूर्ण एजेण्डाका रुपमा प्रवेश गरोस् । ५० वर्षदेखि थुप्रिएका गण्डक र कोशीका समस्याको समाधानका लागि प्रष्ट खाका बाहिर आओस् ।’

उनले १५ मेगावाटको सूर्यपुरा पावर प्लान्ट तीन मेगावाटमा मात्रै सञ्चालनमा आएको भन्दै उक्त आयोजनालाई पूर्ण क्षमतामा सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराए । ‘यो पावरप्लान्ट पनि पूर्ण क्षमतामा सञ्चालन ल्याउन सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।

नेपाल र भारत सरकारबीचको गण्डक सिँचाइ तथा जलविद्युत आयोजना सम्झौता बमोजिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरामा १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत निर्माण भएको हो तर उक्त परियोजनाको क्षमता १५ मेगावाट भएपनि अहिले ३ मेगावाटमात्रै विद्युत उत्पादन हुने गरेको छ ।