• बैशाख २७ २०८३, आईतवार

आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड,कांग्रेस नेता एनपी साउद परराष्ट्रमन्त्री बन्दै

बैशाख ३ २०८०, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । जसमा नेपाली कांग्रेसका नेता एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन्। उनले आइतबार परराष्ट्रमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदैछन् ।उनले भारत भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ। आज दिउँसो ३ बजे शपथ ग्रहणको समय निर्धारण गरिएको छ ।

आन्तरिक किचलोका कारण यसअघि चैत १७ गते मन्त्रीमण्डल विस्तार हुँदा कांग्रेसका चारजना मन्त्रीले मात्रै शपथ लिएका थिए। कांग्रेसबाट थप चारजना मन्त्रीले वैशाख १० गते हुने उपनिर्वाचनपछि शपथ लिनेछन्। प्रधानमन्त्री दाहालले ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

उनले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, खानेपानी मन्त्रालय, परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्। कांग्रेस नेता साउदबाहेक अन्य मन्त्री नियुक्तिबारे अझै अन्योल छ।