• जेष्ठ १० २०८३, आईतवार

वर्षमानकी आमालाई घाइते बनाउने प्रहरी हवल्दारले दिए बयान,‘जानीजानी गोली चलाएको होइन’

बैशाख २ २०८०, शनिबार

काठमाडौं । प्रहरी सहायक हवल्दार प्रकाश पुनमगरले ७४ वर्षीया तीर्थमाली पुनमाथि आफूले नियतवश गोली नचलाएको बताएका छन् । गए राति काठमाडौंको बागडोलस्थित डेराबाट नियन्त्रणमा लिइएका प्रकाशले प्रहरीलाई दिएको बयानमा आफूले जानीजानी गोली नचलाएको बताएका हुन् ।

नयाँ वर्ष मनाउन तीर्थमाली (हजुरआमा)को घर गएको स्विकारेका प्रकाशको बयानबारे जानकारी प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी दीपेन्द्र जीसीले दिएका हुन् । ‘नियतवश गोली चलाएको होइन । ढोकाबाट निस्कँदै गर्दा पेस्तोल पड्किएको हो । कसरी गोली लाग्यो, म आफैंलाई थाहा छैन भन्ने बयान दिएका छन्’, प्रवक्ता जीसीले भने ।

गोली लागेर घाइते भएकी ७४ वर्षीया तीर्थमाली पुनको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा भइरहेको छ । उनी माओवादी नेता वर्षमान पुनकी आमा हुन् । साइनोले प्रकाश उनका नाती पर्छन् । उनकै पेस्तोलको गोली तीर्थमालीको देव्रे खुट्टामा लागेको प्रहरीले जनाएको छ । नयाँ वर्षको पारिवारिक जमघटमा उनीहरू गैरीधारास्थित तीर्थमाली बस्ने घरमा भेला भएका थिए । उनी आफ्नो छोरा (वर्षमानका दाई) को घरमा बस्दै आएकी छन् ।

शुक्रबार राति ९ बजेतिर गोली लागेलगत्तै तीर्थमालीलाई अस्पताल लगिएको थियो । प्रहरीका अनुसार, घटनापछि पेस्तोलधारी प्रकाश बागडोलस्थित डेरामा पुगेका थिए । उनलाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो ।
हाल प्रकाशलाई प्रहरी मुख्यालय नक्सालमा राखेर अनुसन्धान भइरहेको जीसीले जानकारी दिए ।