• जेष्ठ १० २०८३, आईतवार

चितवनमा आजदेखि सुरु गरियो प्याराग्लाइडिङ्ग

बैशाख १ २०८०, शुक्रबार

काठमाडौँ। चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं.२९ को चौकीडाँडाबाट सुरु गरिएको हो ।

चितवनमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको जानकारी दिए ।

चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुनेछ ।

उनले प्याराग्लाडिङ्ग उडानका लागि लाग्ने ८ हजार रुपैयाँमा २५ प्रतिशत छुट दिएर ६ हजार शल्क लिइएको बताए । १० वटा प्याराग्लाइडिङ्ग उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान सकिने गरी तयारी गरिएको दवाडीले जानकारी दिए ।

कम्पनीका अध्यक्ष विजय घलेले चितवनमा जंगल सफारी पर्यटनको साथसाथै अब साहसिक पर्यटनको अर्को ‘आइटम’का रुपमा रहेको प्याराग्लाइडिङ सुरु गरिएको बताए । ‘नयाँ वर्षसँगै चितवनको पर्यटन व्यवसायमा एक थप नयाँ आयाम थपिएको छ,’ अध्यक्ष घलेले भने, ‘जंगल सफारीका लागि प्रख्यात चितवनमा अब प्याराग्लाइडिङ्गको आनन्दसमेत आन्तरिक तथा बाह्य पर्यटकहरुले लिन सक्छन् ।’

उडान हुने ठाउँ चौकीडाँडामा कम्पनीले रिसोर्ट खोल्ने तयारी पनि अगाडि बढाएको छ । ३० वटा कोठासहितको सुविधा सम्पन्न रिसोर्ट बनाउने योजना कम्पनीको रहेको अध्यक्ष घलेले जानकारी दिए ।

चौकीडाँडामा रिसोर्ट र प्याराग्लाइडिङ्गका लागि ७० करोड खर्च लाग्ने अनुमान छ । प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ विघा जग्गा कम्पनीले लिइसकेको छ ।