काठमाडौँ । आजदेखि विक्रम संवत् २०८० सुरु भएको छ । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन्। नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ। वैशाख १ गतेलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन्।
नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलतारअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घर कोठा–आँगन सफा गर्ने, मीठो मीठो खाने, साथीसङ्गती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन् ।