• जेष्ठ १० २०८३, आईतवार

ह्वात्तै बढ्यो प्रदूषण, विशेष सावधानी अपनाउन अपिल

चैत्र ३० २०७९, बिहीबार

काठमाडौँ । फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण ह्वात्तै बढेको छ । वातावरण विभागका अनुसार बारा, पर्सा, चितवन लगायत देशभर १४० भन्दा बढी स्थानमा लागेको डढेलो र प्रदूषणका स्थानीय स्रोतका कारण काठमाडौँ उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ ।

प्रदूषणको बढ्दो स्तरका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै विभागले विशेष सावधानी अपनाउन भनेको छ ।अझ विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवं श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किन विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै सबै नागरिकले घर बाहिर निस्किँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ ।

साथै विभागले वन डढेलो नियन्त्रणको लागि सरोकारवाला निकायहरुसँग हातेमालो गर्न आम समुदायलाई अपिल पनि गरेको छ।

‘फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ’, विभागले भनेको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने र डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउनु हुन आम सर्वसाधारण सबैमा हार्दिक अनुरोध गरिन्छ ।’