काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरुले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताएका छन् ।
बुधवार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष केसीले नेपालमा विदेशी हस्तक्षेप बढ्दा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको बताए । उनले विदेशी नागरिकहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालेका बताए । उनले स्थापित राजनीतिक पार्टीहरु बद्नाम हुँदै गइरहेका भन्दै पार्टीहरु बद्नाम हुनुमा पार्टीहरुकै कमजोरी रहेको औंल्याए ।
‘देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता अहिले पनि संकटमा छ । विदेशीहरुको हस्तक्षेप खुलेआम बढेको छ । विदेशीहरुले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन् । ५०-६० वर्षदेखि स्थापित पार्टीहरु बद्नाम भएर गएका छन्’ उनले भने, ‘बद्नाम हुनुको पछाडि जनताको कमजोरी होइन, उनैका कमजोरीका कारणले जनतामा उनीहरु नाङ्गिए । त्यसको बदला नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, नेपालको नागरिकता नै नभएको मान्छेलाई गृहमन्त्री बनाउने काम सरकारले पनि गरेको छ र निर्वाचन आयोगले पनि गरेको छ । त्यो राम्रो कुरा होइन । नेपालको ऐन, कानूनलाई ठाडै उल्लंघन भएको छ ।’
अध्यक्ष केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न गरे । उनले संसदीय व्यवस्थामा संसदको ठूलो पार्टीले सरकारको नेतृत्व गर्नुपर्ने भएपनि जालझेल र षड्यन्त्र गरेर तेस्रो पार्टीलाई प्रधानमन्त्री दिइएको बताए ।