• बैशाख २७ २०८३, आईतवार

रास्वपाले ढाकाकुमारसित लियो बयान

चैत्र २८ २०७९, मंगलवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा बयान लिएको जनाएको छ । रास्वपा अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको हो ।

श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ ।
रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले भने, ‘ढाकाकुमार श्रेष्ठको आज बयान दिने काम भएको छ । पार्टी कार्यालयमा हामीले एक घण्टा बयान लियौं ।’

बयानका क्रममा पनि सांसद श्रेष्ठले प्रस्टीकरणमै उल्लेख गरेको कुरा दोहोर्याएको देवकोटाले बताए । सोमबार साँझ पार्टीको ताकेतापछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निणर्य आफूलाई स्वीकार्य हुने बताएका छन् ।

देवकोटाले भने, ‘बयानमा पनि प्रस्टीकरणकै कुरा दोहोर्याउनु भएको छ । हामीले भोलि बिहान रिपोर्ट तयार पर्छौँ ।’ यस घटनामाथि छानबिन सकेर अनुशासन समितिले पार्टीको केन्द्रीय समितिलाई सुझाउने उनले बताए । समितिको सुझावलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार केन्द्रीय समितिलाई नै रहेको देवकोटाको भनाइ छ ।