• बैशाख २७ २०८३, आईतवार

सिंहदरबार गन्हाउन थालेपछि सरकारले बालेन शाहसित वार्ता गर्ने

चैत्र २८ २०७९, मंगलवार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाएकोमा सरकारले महानगरका मेयर बालेन शाहसँग छलफल गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहले सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने भनेर गरेको घोषणालाई गम्भीर रूपमा लिँदै आवश्यक कुराकानी र छलफल गर्ने निणर्य गरेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले त्यसबारे मेयर बालेन शाहसँग आवश्यक कुरा गर्ने निणर्य भएको बताइन् । ‘फोहोर नउठेको विषय गम्भीर कुरा हो । यो स्थानीय तहको अधिकार क्षेत्रको कुरा भए पनि किन त्यसो गरियो भनेर यसबारे आवश्यक कुरा गर्ने निणर्य भयो’,मन्त्री शर्माले भनिन्, ‘काठमाडौँ उपत्यकाको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था हो । यो व्यवस्था परिवर्तन भएको छैन । व्यवस्था परिवर्तन नहुँदै महानगर प्रमुखले त्यस्तो घोषणा किन गर्नुभयो ? यसलाई सरकारले गम्भीर रुपमा लिएको छ ।’

मेयर बालेन शाहले शनिबार सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । सोही अनुसार त्यसयता सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उठेको छैन ।