• बैशाख २७ २०८३, आईतवार

ओलीसित सँगै जेल बसेका नेता खरेलले छोडे एमाले

चैत्र २७ २०७९, सोमबार

काठमाडौं । एमाले केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेलसहितका नेता तथा कार्यकर्ताले सोमबार एमाले परित्यागको घोषणा गरेका छन् ।

खरेल एमाले अध्यक्ष केपी ओलीसँगै १७ वर्ष जेल बसेका झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट नेता हुन् । सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेल लगायतका १० जनाले एकै पटक एमाले छाडेको घोषणा गरेका छन् ।

यसअघि हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीपनि एमाले छाडेर नेकपा समाजवादीमा प्रवेश गरेका थिए । पार्टीभित्र वैचारिक संघर्ष गर्ने क्रममा अनेक किसिमका अपमान तिरस्कारको सामना गर्नु परेको भन्दै ती नेता तथा कार्यकर्ताले एमाले छाडेको जनाएका छन् । घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गरेपछि खरेल उनीसँगको संवादमा थिए ।

‘१० बुँदेु पक्षधर झापाका अन्य नेता तथा कार्यकर्ताहरु पनि नेकपा एसमा प्रवेशको तयारीमा रहेको बुझिएको छ । एमालेभित्र असन्तुष्ट धेरैले पार्टी छाड्दैछन्, नेकपा एसका एक केन्द्रीय नेताले भने । खरेलकी पत्नी पवित्रा खरेल भने विदेशमा रहेकाले उनले एमाले छाडेकी छैनन् ।

खरेल हाल एमाले सल्लाहकार परिषद् सदस्य थिए । नेकपा एसका नेता मुकुन्द न्यौपानेले नेकपा एस छोडेर एमालेमा फर्किन लागेका बेला अर्का नेता खरेल भने एमाले छोडेर नेकपा एसमा प्रवेश गर्न लागेका हुन् ।