• बैशाख २७ २०८३, आईतवार

बालेनले फोहोर उठाउन रोकेपछि शितल निवासमा तनाब

चैत्र २७ २०७९, सोमबार

काठमाडौं । काठमाडौंमा आजभोलि फोहोरमा राजनीति चर्किएको छ । काठमाडौंका मेयर बालेन साहले सिंहदरबारको फोहोर उठाउँदिन भनेपछि सत्तामा भएकाहरु अत्तालिएका छन् ।

नुवाकोटको बञ्चलेडाँडामा दलका नेताको निर्देशनमा महानगरले फोहोर फाल्न नदिएपछि त्यसको झोंक बालेनले यसपाली फेर्न लागेका छन् । सत्ताको वरपरका स्थानहरुको फोहोर फाल्नमा रोक लागेपछि राष्ट्रपति कार्यालयले सोमबार बिहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको जनाइएको छ ।

शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन भनेको हो तर फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले नलैजान दिएको निर्देशनले फोहोर नउठाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले बताए ।

‘हामीलाई फोहोर उठाउन राष्ट्रपति कार्यालयबाट फोन आए पनि फोहोर नउठाउन महानगरका मेयरको निर्देशनले उठाएका छैनौं,’ सञ्चालक घिमिरेले भने ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारबाट फोहोर नउठाउन निर्देशन दिएपछि अहिले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्रका कार्यालयबाट पनि फोहोर उठेको छैन ।

फोहोरमैला व्यवस्थापन संघका अनुसार सरकारी कार्यालयबाट दैनिक करिब ९ टन फोहोर संकलन हुन्छ । महानगरपालिकाले फोहोर नउठाउन दिएको निर्देशन कायम भएसम्म फोहोर नउठ्ने संघले जनाएको छ ।