• बैशाख २७ २०८३, आईतवार

माओवादी केन्द्रको नेतृत्वमा ४ दलीय मोर्चाबन्दी अलपत्र, पार्टी एकता प्रक्रियामै सीमित

चैत्र २५ २०७९, शनिबार

काठमाडौं । आसन्न बैशाख १० मा हुने उपनिर्वाचन पश्चात् चार दलीय मोर्चाबन्दी बन्ने भएको छ । प्रमुख सत्तारूढ नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा साझेदार दल एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल समाजवादी पार्टी (नेसपा)बीच मोर्चाबन्दी बन्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भएको छलफलमा चार दलीय संयुक्त मोर्चाबन्दी गर्ने सहमति भएको छ । गत माघमै दलका शीर्ष नेताहरूबीच मोर्चाबन्दी गर्ने सहमति भएको नेसपाले बताएको छ ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेसपाबीच एकता प्रक्रिया थालनी भए पनि यसले पूर्णता पाउन सकेको छैन । दलका आ–आफ्नै आकांक्षाले यो प्रक्रिया तत्काललाई असम्भव जस्तै देखिएको छ ।

दलगत एकता सम्भव नभएपछि तत्काललाई मोर्चाबन्दी गर्ने सहमति भएको छ । नेकपा (एमाले)बाट विभाजन भएको एकीकृत समाजवादी, माओवादी केन्द्रबाट अलगिएको नेसपा र टुटफुटको सिकार बन्दै आएको जसपाले कालान्तरमा पार्टी एकता गर्ने प्रवल सम्भावना छ ।

चार दलीय मोचाबन्दी अलपत्र

माघ दोस्रो साता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरूबीच मोचाबन्दी गर्ने सहमति भएको थियो । उक्त सहमति भएको दुई महिना बितिसक्दा पनि कार्यन्वयन हुन सकेको छैन ।

एमाले–माओवादी सत्ता गठबन्धन ताका नै मोर्चाबन्दीको खाका तयार पारिएको थियो । तर, त्यसले आजसम्म सार्थकता पाउन भने सकेको छैन । मोर्चाको नेतृत्व सम्हालेको माओवादी केन्द्रले सत्ताको बागडोर सम्हाल्नुपर्ने भएकोले केही ढिलाइ भएको बताइएको छ ।

यद्यपि उपनिर्वाचन सम्पन्न भएलगत्तै मोर्चाबन्दीलाई अगाडि बढाइने माओवादी केन्द्रले बताएको छ । उसले सरकारको कार्यसम्पादन र मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ गरेसँगै मोर्चाबन्दीको कार्य पनि ढिला भएको स्वीकार्छ ।

उपनिर्वाचन सम्पन्न भएलगत्तै चारै दलका शीर्ष नेताबीच पुनः एक चरण छलफल हुने बताइएको छ । उक्त छलफल पश्चात् मोर्चाबन्दीलाई कार्यान्वयनमा लैजाने माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी प्रवक्ता कृष्णबहादर महराले बताए ।

पार्टी एकता प्रक्रियामै सीमित

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेसपाले विचार मिल्नेसँग कार्यगत, मोर्चाबन्दी र दलगत एकता गर्ने औपचारिक निर्णय गरिसकेका छन् । गत वर्ष पुषमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले नै पार्टी एकताको निर्णयलाई अगाडि सारेको थियो ।

त्यस्तै गत माघमा जसपाले पार्टी एकताको निर्णय गरेको छ । उसले माघमै पार्टी नेता कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पार्टी एकताको प्रस्ताव गर्दै पत्र पठाएको थियो । पार्टीको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका नेता राजेन्द्र श्रेष्ठद्वारा प्रेषित पत्रमा देशले आज श्रमजीवी तथा उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने पार्टीहरूबीच एकता खोजिरहेको छ ।

एकताले देशमा परिवर्तनकारी राजनीतिक एजेण्डा स्थापित गर्न, देशलाई अग्रगमनतर्फ डोर्याउन र उत्पीडित वर्ग तथा पछाडी परेका महिला, मुस्लिम, आदिवासी जनजाति, मधेसी, खस, थारु, शिल्पी÷दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न तथा देशको प्रतिकूल राजनीतिक शक्ति सन्तुलनलाई अनुकूल बनाउन सकिने पत्रमा उल्लेख गरिएको थियो ।

एकीकृृत समाजवादीले पनि पार्टी एकताको निर्णय गरिसकेका छ । जसपाले गरेको एकता प्रस्ताव उसले स्वीकारेको छ । पूर्वमन्त्री तथा पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जसपासँग आफ्नो पार्टी एकताका लागि आफ्नो पार्टी तयार रहेको बताए ।

जसपाले एकताका लागि प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रसँग पनि एकताको प्रस्ताव अघि बढाएको छ । तर, उसले पार्टी र सरकारको जिम्मेवारीले एकताको प्रस्तावलाई स्वीकारे पनि हेराफेरी नभएको प्रवक्ता महरा बताउँछन् ।

नागरिक उन्मुक्ति पार्टीसँग पनि एकता प्रयासका लागि छलफल गरेको बताएको छ । उसले एकताका लागि सामान्य छलफल गरे पनि नागरिक उन्मुक्तिले तत्काल एकताभन्दा आफ्नो मुद्दालाई प्राथमिकतामा राखेको बताएको छ ।

उसले आजीवन काराबास सजाए भोगिहेका पूर्वसांसद रेशम चौधरीको रिहाइको माग गरेको छ । तर, एकतालाई पनि उसले सकारात्मक ढंगले लिएको बताईएको छ । नेसपाले पार्टी एकताको निर्णयलाई अगाडि सारेको छ । उसले माओवादी केन्द्रसँग एकताका प्रक्रिया अन्तिम चरण पुर्याएको बताएको छ ।

यी चार दलले मोर्चालाई अलपत्र पारेसँगै पार्टी एकता एकतामै सीमित राखेको एकीकृत समाजवादीका एक नेता बताउँछन् । यसअघि चार दलले पार्टी एकता अभियानलाई तीव्रता दिए पनि सभामुख, सत्ता गठबन्धन फेरबदल, राष्ट्रपति, उपराष्ट्रपति र उपनिर्वाचनले एकता प्रक्रिया एकतामै सीमित भएको संयोजक श्रेष्ठ बताउँछन् । तर, मोर्चाबन्दी र पार्टी एकताका लागि उपनिर्वाचन सम्पन्न भएलगत्तै चार दलका शीर्ष नेता बसेर छलफल गर्ने बताइएको छ ।