• बैशाख २७ २०८३, आईतवार

माओवादी केन्द्रको दुई महिने पार्टी विस्तार र संगठन सुदृढीकरण अभियान शुरू नभई अन्त्य

चैत्र २४ २०७९, शुक्रबार

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को दुई महिने पार्टी विस्तार र संगठन सुदृढीकरण अभियान शुरू नभएरै अन्त्य भएको छ । गत माघ २९ मा बसेको पार्टी स्थायी कमिटी बैठकले गरेको निर्णय अन्तर्गत उक्त अभियान शुरू नभएरै अन्त्य भएको हो ।

माओवादी केन्द्र गत पुष १० यता सत्ताको कोपभाजनमा गर्नुले पार्टीको अधिकांश आन्तरिक गृहकार्य अलपत्र छन् । उसले फागुन र चैत महिनाभित्रै दुई महिने पार्टी विस्तार र संगठन सुदृढीकरण अभियान देशव्यपी सञ्चालन गर्ने निर्णय गरे पनि कार्यान्वयन भएन ।

किनकि उसले विगत चार महिनायता सत्ताको बागडोर सम्हाल्दै आएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन फेरबदल र सरकारलाई पूर्णता दिने कसरतले आफ्नै पार्टीलाई समय दिन सकेका छैनन् । यतिमात्रै नभएर उनी सरकारलाई पाँच वर्षसम्म कसिलो बनाउने ध्यान्नमा छन् ।

अध्यक्षको व्यस्तता र संघदेखि प्रदेशसम्मको अस्थिर सरकारलाई स्थिरता दिने प्रयासमै माओवादी केन्द्र आफैले गरेको निर्णय कार्यान्वयनमा चुकेको छ । एमाले–माओवादी सत्ता गठबन्धन ताका गरिएको पार्टीको निर्णय कांग्रेस–माओवादी गठबन्धनसम्म आईपुग्दा पार्टीका निर्णय र सबै गृहकार्य अलपत्र परेका छन् ।

गत फागुन २६ गतेदेखि २८ गतेसम्म बसेको माओवादी केन्द्रको बैठकले सुदूरपश्चिम र मधेस प्रदेशमा पार्टी विस्तार र संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णय पनि कार्यान्वयन भएको छैन ।

मन्त्री पदको लिप्सामा व्यस्त रहनुले दुई महिने अभियान नै अलपत्र परेको माओवादी केन्द्रका शीर्ष नेतामाथि केन्द्रीय स्तरका नेताहरूको आरोप छ । अधिकांश निर्णायक तहका नेताहरू मन्त्रीको लालचमा फस्नुले यो अभियान नै अलपत्र परेको उनीहरू बताउँछन् ।

पार्टीले माघमा गरेको निर्णय बमोजिम केन्द्र, प्रदेश र जिल्लास्तका नेताहरू सो अभियानमा अनिवार्य सरिक हुनुपथ्र्यो । अभियानमा सहभागी नेताले स्थलगत रिपोर्टीङ अनिवार्य गर्नैपर्ने थियो । यतिमात्रै हौइन, उसले गत निर्वाचनमा पार्टीमा अन्तर्घात गर्नेमाथि पनि छानविन गर्न सकिने बताएको थियो ।

तर, माओवादी केन्द्रले गरेको यो निर्णयले तीन महिना पार गर्नै लाग्दा पनि अभियान सञ्चालनको कुनै सुरसार छैन । पार्टीका एक स्थायी कमिटी सदस्यले दुई महिने पार्टी विस्तार र संगठन सुदृढीकरण अभियान अब उप्रान्त गर्न नसकिने बताउँछन् । उनले बरू यो अभियानलाई आगामी वर्षमा सञ्चालन गर्न सकिने बताए ।

‘अभियानलाई सार्थकता दिन हाम्रा लागि प्रशस्त समय भएन । भएको समय सदुपयोग गर्न सकिएन । हाम्रा केही आन्तरिक तथा बाध्यात्मक परिस्थितिले अभियान सञ्चालनमा केही व्यवधान सिर्जना भयो । यसका साथै प्रमुख सत्ता साझेदार दलको हैसियतले कार्य सम्पादन गर्दा केही कठिनाइ आए । यी कठिनाइका बाबजुद अभियानलाई समय दिन नसकेको एक नेताले स्वीकारे ।’

पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्ण महराले अत्यन्तै व्यस्तताले अभियान सञ्चालनमा अवरोध आएको स्वीकार्छन् । उनी भन्छन्, ‘पार्टी स्थायी कमिटीले गरेको निर्णय बमोजिम अभियानलाई सार्थकता दिनुपथ्र्यो । दिन सकिएन । यसको अलवा हामी अर्को अभियानलाई चाँडै सञ्चालन गर्छौँ । यसका लागि हामी केही दिनभित्रै तयारीमा जुट्ने छौँ । यद्यपि दुई महिने अभियानले ढिलै भए पनि पुनः सार्थकता पाउनेछ ।’

एक महिनाअघि मधेस प्रदेश कमिटीको तीन दिने बैठकमा पार्टीका उपमहासचिज मातृका यादव उपस्थित भएका थिएनन् । उक्त प्रदेशमा विवाद हुँदा प्रदेश कमिटीसमेत बन्न सकेको थिएन । बैठकमा प्रदेश इञ्चार्ज गणेश साह बाहेक अरू केही सदस्य पनि थप गरिएको थियो ।
मधेसका अधिकांश जिल्ला र स्थानीय तहमा नेतृत्व नहुँदा माओवादी केन्द्र कमजोर हुँदै गएको छ । जसले गर्दा संघीय संसदमा माओवादी केन्द्रको मधेसबाट उपस्थिति शून्य छ ।

मधेसका केही नेताहरूको विवादले गर्दा दुई महिने अभियान प्रभावित बन्यो । अभियान छिट्टै सञ्चालन गरेर प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीलाई पूर्णता दिने माओवादी केन्द्र मधेस प्रदेश कमिटीको तयारी छ । सुदूरपश्चिम प्रदेशमा पनि उसले अभियान सञ्चालन गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को ग्रासरूट अभियान जारी छ । उसले देशव्यापी रूपमा उक्त अभियानलाई तीव्रता दिएको छ । कोसीदेखि सुदूरपश्चिम प्रदेशसम्म एमालेले यो अभियानलाई सार्थकता दिएको छ । अभियानमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सरिक छन् ।