काठमाडौं । सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको आरोपमा जाजरकोटको छेडागाडा नगरपालिका–१२ का तत्कालीन वडासचिवविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
तत्कालीन वडासचिव देवीलाल जैसीले आर्थिक वर्ष २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नक्कली विवरण खडा गरी दुई लाख ७३ हजार चार सय रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ।
उक्त घटनामा अनुसन्धान गर्दा सचिव जैसीले उक्त रकम हिनामिना गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
जैसीविरुद्ध दुई लाख ७३ हजार चार सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम उक्त ऐनको दफा ३ को उपदफा (१) र ऐ उपदफा (१) को खण्ड (घ) बमोजिम कैद र बिगो जरिवाना असुल उपर गर्नुपर्ने अख्तियारले उजुरीमा मागदाबी गरेको छ।
यसका साथै त्यहिँका तत्कालीन प्रशासन सहायक रत्न बहादुर कार्कीले समेत २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुको नक्कली विवरण खडा गरी सरकारी रकम हिनामिना गरेको भन्दै उनीविरुद्धसमेत सोही अनुसारको कैद र बिगो मागदाबी गरिएको छ।