• बैशाख २७ २०८३, आईतवार

रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, मंगलबारलाई पेशी तोकियो

चैत्र २० २०७९, सोमबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका हुन्। आइतबार दायर गरिएको रिट सर्वोच्चले अध्ययनपछि सोमबार दर्ता गरेको हो। रिटको पेसी मंगलबारलाई तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।

यसअघि नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सांसद पद खारेज गर्दै पुन: नागरिकता लिन आदेश गरेको थियो। सर्वोच्चको उक्त फैसला अनुसार लामिछानेले पुन: नागरिकता लिएका थिए।

सोमबार रविविरुद्ध दर्ता भएको रिटमा अन्तरिम आदेश जारी भएमा उनी उपनिर्वाचनमा भाग लिनबाट रोकिने छन्। अन्तरिम आदेश जारी गर्न अस्वीकार भएमा भने उनका लागि कानुनी बाटो खुला रहनेछ।