• बैशाख २७ २०८३, आईतवार

उपनिर्वाचनको चर्चामा स्वर्णिम वाग्ले, वाग्लेका प्रतिस्पर्धी ठूला दलका शीर्ष नेता

चैत्र १७ २०७९, शुक्रबार

काठमाडौं । आसन्न बैशाख १० मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा दाबेदार सत्तारूढ तथा प्रतिपक्षी दलहरूले उम्मेदवारको नामावली धमाधम सार्वजनिक गरिरहेका छन् ।

सत्तारूढ दलले समेत साझा उम्मेदवार खडा गर्न नसकेपछि मित्रवत् प्रतिस्पर्धाका लागि निर्वाचनमा आ–आफ्नो पार्टीबाट उम्मेदवारको नामावली सार्वजनिक गरेका हुन् ।

देशको सबैभन्दा ठूलो एवम् सत्ता साझेदार दल नेपाली कांग्रेसले समेत सत्तारूढ दलभित्रैबाट साझा उम्मेदवार खडा गर्न सकेको छैन । यस्तो अवस्थामा उसले मित्रवत् प्रतिस्पर्धा गर्ने भन्दै चितवन–२, र तनहुँ–१ मा दाबेदार उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो ।

कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । हिजो (बिहीबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

यसअघिका प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि रिक्त यो क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनका लागि चितवनका पुराना तथा पूर्वपार्टी सभापति समेत रहेका श्रेष्ठलाई कांग्रेसले चितवन–२ मा उम्मेदवार बनाउने भएको हो । श्रेष्ठको नाम कांग्रेसले बिहीबार नै सार्वजनिक गरिसकेको छ ।

त्यस्तै तनहुँ–१ मा पनि कांग्रेसले आफ्नो उम्मेदवार खडा गरेको छ । त्यस निर्वाचन क्षेत्रमा गोविन्द भट्टराईलाई खडा गरेको हो । उनको नाम पनि बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सार्वजनिक गरेको छ ।

तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यस क्षेत्रमा पनि उपनिर्वाचन हुने भएको हो । बारा–२ मा कांग्रेसले सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।

प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले भने हालसम्म उम्मेदवार तय गरेको छैन । उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्ण महराले आफ्नो पार्टीबाट उम्मेदवार खडा नगर्ने बताउँछन् । बरू माओवादी केन्द्रले सत्ता साझेदार दलका उम्मेदवारलाई सघाउने भएको छ ।

त्यस्तै अर्को सत्ता साझेदार दल जसपाले बारा–२ मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने प्रवल सम्भावना रहेको छ । यद्यपि उसले हालसम्म उम्मेदवारको नामावली सार्वजनिक गरेको छैन ।

जसपाले तनहुँ र चितवनमा भने उम्मेदवार तय नगर्ने भएको छ । उसले ती दुवै निर्वाचन क्षेत्रमा कांग्रेसलाई सघाउने आन्तरिक सम्झौता गरेको स्रोत बताउँछ ।

लोसपा सता साझेदार दल भए पनि उसले बारा–२ मा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य निर्वाचन क्षेत्रमा भने उसले हालसम्म कसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय गरेको छैन ।

त्यसैगरी जनमत पार्टीले शिवचन्द्र प्रसाद कुशवाहलाई उम्मेदवार बनाउने भएको छ । कुशवाह बुधबार माओवादी केन्द्र परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी पनि सत्ता साझेदार दल नै हो ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन–२ मा पार्टी सभापति रवि लामिछानेलाई उम्मेदवार बनाउने पक्कापक्की भइसकेको बताइएको छ । उसले बारामा कसलाई उम्मेदवार बनाउने भन्नेबारे टुंग्याएको छैन । तर, सम्भावित उम्मेदवारको नामावली भने सार्वजनिक गरेको छ ।

कांग्रेसबाट विद्रोह गरेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्लेलाई तनहुँ–१ मा उम्मेदवार बनाउने चर्चा छ । रास्वपाले तीनवटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम आज (शुक्रबार) सार्वजनिक गरेको छ ।

उसले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको जनाएको हो । उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ–१ बाट डा.स्वर्णिम वाग्लेसहित तीनजना छन् । त्यस्तै ईश्वर लामिछाने र डा.रुपक विकले पनि दाबी पेश गरेका छन् ।

बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ । रास्वपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ ।

स्वर्णिम वाग्लेका प्रतिस्पर्धी ठूला दलका शीर्ष नेता

रास्वपाले सकभर तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई नै उम्मेदवार बनाउने देखिन्छ । किनकि वाग्लेको भागमा उक्त निर्वाचान क्षेत्र हात नपरेपछि असन्तुष्टि पोख्दै उनले कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका छन् ।

यहीँ मौकामा उसले वाग्लेलाई उम्मेदवार नबनाए उनीमा थप असन्तुष्टि बढ्ने देखिन्छ । यसर्थ रविले ईश्वर र रूपकलाई थामथुम पारेर भए पनि वाग्लेलाई नै तनहुँमा उम्मेदवार बनाउने राजनीतिक वृत्तमा चर्चा छ । तथापि यो समाचार तयार पार्दासम्म वाग्लेको पक्षमा निर्णय भएको छैन ।

कांग्रेसमा स्थापित र प्रतिष्ठित रूपमा चिनिने वाग्ले उपनिर्वाचनको मुखैमा रास्वपा प्रवेश गर्नुलाई निकै महत्वका साथ हेरिएको छ । वाग्लेले तनहुँमा उपनिर्वाचन लड्न खोजे पनि पार्टीले उनलाई उम्मेदवार नबनाएपछि विद्रोह गरेर रास्वपा प्रवेश गरेको स्वयम् कांग्रेसकै कतिपय नेता बताउँछन् ।

तर, तनहुँमा वाग्लेलाई निर्वाचन हाँक्न मुस्किल पर्ने देखिन्छ । किनकि उक्त निर्वाचन क्षेत्र कांग्रेसको निकै उर्वर र गढ भएको मानिन्छ । कांग्रेसलाई त्यस क्षेत्रमा माओवादी केन्द्र, जसपा र लोसपाले पनि सघाउने छ । यस्तो अवस्थामा उनलाई निर्वाचनमा विजयी हुन सकस नै देखिन्छ । यसका लागि उनले यो छोटो अवधिमा निकै मेहनत गर्नुपर्ने छ ।

यदि वाग्ले नै रास्वपाको उम्मेदवार बनेमा उनका प्रतिष्पर्धी अन्य पार्टीका शीर्ष र पुराना नेता छन् । वर्षौँ पार्टीलाई हाँकेका नेता हुन्, उनीहरू । तनहुँ–१ मा वाग्लेका प्रमुख प्रतिपर्धी कांग्रेसका गोविन्द भट्टराई हुनेछन् । भट्टराई कांग्रेसका स्थापित र पुराना नेता हुन् ।

गत प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ–१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै सो निर्वाचन क्षेत्र रिक्त रहेको छ । तनहुँ र चितवनमा हुने उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा हुने निश्चित छ भने कांग्रेसका लागि यो प्रतिष्ठाको लडाइ पनि हो ।