काठमाडौँ । बैसाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् । नेपाली कांग्रेसबाट उपचुनावमा टिकट नपाएपछि वाग्ले रास्वपाबाट उम्मेदवार भएका हुन् ।
रास्वपाका नेता अरनिको पाण्डेले वाग्ले तनहुँ १ बाट उम्मेदवार भएको पुष्टि गरे । सामाजिक सञ्जाल ट्वटीरमा लेख्दै पाण्डेले रास्वपाबाट वाग्ले उम्मेदवार भएको उल्लेख गरे ।
वाग्लेले आजै पार्टी परित्याग गरेलगत्तै रास्वपाले उम्मेदवार बनाएको हो । कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने भएपछि वाग्लेले टिकट नपाएका हुन् ।
आगामी वैशाख १० गते हुने उपचुनावमा कांग्रेसका भट्टराई, रास्वपाका वाग्ले र एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने भएको छ ।