काठमाडौं । नेकपा (बहुमत)ले सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठलाई गरिएको कारबाहीको जिम्मा लिएको छ । उक्त पार्टीले मेयर श्रेष्ठ माथिको कारबाहीका क्रममा गिरफ्तार गरिएका आफ्नो पार्टीका नेता साधुशरण महरालाई रिहा गर्न पनि माग गरेको छ ।
सो पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘बैंक, सहकारी र लघुवित्तीय संस्थाहरुद्वारा थोपरिएको मिटरव्याजी शोषण देशको विकराल आर्थिक समस्याका रुपमा देखा परेको छ । हाम्रो पार्टी यसखाले अत्याचारका बिरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको छ । कमजोर आय भएका र मध्यम वर्गका श्रमजीवी जनताले अत्यन्तै दुःख गरेर आर्जन गरेको पैशालाई समूह बनाएर उठाउने र उनै जनतामा लगानी गरेर कैयौंको उठिबास लगाउने यसखाले अत्याचारमा लघुवित्तीय संस्थाहरु पहिलो पंक्तिमा रहेका छन् । अधिकांश लघुवित्तीय संस्थाहरुले एकातिर सर्वसाधारण जनताको सम्पत्ति लुट्ने गलत मनसायद्वारा चर्को व्याज लगाउनु र अर्कोतिर सत्ताको आडमा घुस, भ्रष्टाचार र कमिसनको तरिकाले आर्जन गरेको कालो धनलाई समेत सेतो बनाउन यसप्रकारको उत्पिडन बढाउँदै गएको हुँदा हाम्रो पार्टी लघुवित्तीय संस्था खारेजीको कार्यक्रम लिएर देशव्यापी अभियानमा लागिरहेको छ । यो अभियान अन्तर्गत विविध कार्यक्रमहरु भइरहेका छन् । यसैक्रममा श्रृजनशील लघुवित्तका संचालक तथा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठलाई कालोमोसो लगाएर चेतावनीमूलक कारबाही गरिएको छ । यो विषयलाई निहुँ बनाएर हाम्रो पार्टीको नरहा गाउँ कमिटी इज्चार्ज साधुशरण महरालाई केही भिजिलान्ते समूहले कुटपिट गरी प्रहरीलाई बुझाएको घटनाप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी कमरेड साधुशरणको यथासिघ्र रिहाईका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ । साथै गुण्डाहरु परिचालन गरेर जनतालाई शोषण गर्ने पीडित जनताले बोलेमा धम्काउने कुटपिट गर्ने र आत्महत्या गर्न विवस बनाउने यसखाले गुण्डागर्दीको पार्टी दृढतापूर्वक बिरोध गर्दछ । पीडित जनता र न्यायका पक्षपाति सबैमा यसखाले अत्याचारको विरोधमा संघर्ष गर्न हार्दिक अपिल समेत गर्दछ ।’