• बैशाख २७ २०८३, आईतवार

अर्थविद् स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग(पत्रसहित)

चैत्र १६ २०७९, बिहीबार

काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्।

उनले इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन्। वाग्लेले कांग्रेस परित्यागको घोषणा गरेको कोइरालाको सचिवालयले पुष्टि गरेको छ।

‘पार्टीमा रहन्न भनेर सन्देश पठाउनभएको छ,’ नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘पार्टी परित्यागको घोषणा गर्नुभएको छ।’ वाग्ले वैशाख १० मा तनहुँ १ मा हुने उपनिर्वाचनमा उठ्नका लागि राष्ट्रिय स्वन्त्र पार्टीसँग अहिले छलफलमा छन्। रास्वपाले सम्भवत: आजभोलि नै वाग्लेलाई तनहुँ १ मा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय लिनेछ।

यस्तो छ स्वर्णिमको पत्र

प्रिय दाइ,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम