• जेष्ठ १० २०८३, आईतवार

दाङस्थित नेपाल-भारत सिमा नाकामा नेपालीमाथि भारतीयको ज्यादती बढ्दै, नेपाली प्रशासन मौन

चैत्र १५ २०७९, बुधबार

भालुबाङ, १४ चैत । भारतसँग सीमा जोडिएको दाङको सिमा नाकामा नेपालीमाथि भारतीयले ज्यादती गर्ने गरेका छन् । पूर्वको अर्ना नाकादेखि पश्चिममा भौवानाकासम्म नेपाल–भारत सीमा आसपासमा दिनहुँजसो नेपालीमाथि भारतीयले ज्यादती गर्ने गर्दछन् ।

नेपाल–भारत सीमा क्षेत्र ८५ किलोमिटर लामो छ । पूर्वमा अर्नानाका र पश्चिममा भौवानाकासम्म भारतीय पक्षबाट नेपाली नागरिकमाथि दिनहुँजसो ज्यादती हुने गरेपनि सीमावर्ती क्षेत्रको निगरानी राख्नुपर्ने स्थानीय, प्रदेश र संघीय सरकार मौन बसेका छन् ।

एकपटक मात्रै होइन, सीमा नाकाको वास्तविक पीडा अनि समस्या पटकपटक नेपाल सरकारलाई ध्यानाकर्षण गराइएको पनि छ । तर, भारतसँग सीमा जोडिएको दाङको अधिकांश सीमा नाकाको पीडा दशकौंदेखि निरन्तर उठाउँदा समेत सम्बन्धित निकायको ध्यान कहिल्यै नपुगेको सिमा नाकाका नेपाली नागरिकको गुनासो छ ।

राजपुर गाउँपालिका वडानम्बर ६ बइरवा नाकामा नेपाल–भारत सीमावर्ती क्षेत्रको दशगजा देखि करिब चार किलोमिटरको भारतीय जंगलमा दुई नेपाली युवती बलात्कृत भए तर प्रशासनको मौनता रहेको नेपाली नागरिकको गुनासो छ ।

सीमावर्ती क्षेत्रका नेपाली नागरिकले कुटपिट, लुटपाट, दुर्व्यवहार र सार्वजनिक असुरक्षा व्यहोर्नु परिरहेको हुन्छ तर यस्ता ज्यादती विरुद्ध लाग्नुको सट्टा आधिकारिक अभिलेखसम्म राख्ने गरिएको छैन ।

दाङको सीमा नाकामा सशस्त्र प्रहरी बलको टोली बस्न थालेपछि विवाद कम हुँदै गएको सशस्त्र प्रहरी बल नेपाल नं २९ हे.क्वा ज्यालामाई गण भालुबाङका प्रमुख गोपाल श्रेष्ठले बताए । नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको बाँच्न पाउने हक र सुरक्षा जस्तो संवेदनशील विषयमा कूटनीतिक प्रयासबाट समस्या समाधान गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएको दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले दावी गरे । (दाङबाट शिवु खनाल)