काठमाडौं । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना मंगलबार रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।
धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मंगलबार धरौटी बुझाएर रिहा भएका जिप्रका काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।
७ चैतमा काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएको थियो, जसको सार्वजनिक रुपमा आलोचना भएको थियो ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दैमा जेल हालेको भन्दै सरकारको आलोचना भइरहेको छ ।