काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुको प्रदर्शनमा सहभागी भएर ऐक्यबद्धता जनाएका छन् । लामिछानेले ११ दिन पैदल हिँडेर सर्लाहीबाट काठमाडौँ आइपुगेका पीडितहरुसँग भेटेर मिटरब्याजको समस्या तत्काल समाधान गर्न सरकारसँग माग समेत गरे ।
मंगलवार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थ्लमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए । उनले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताए ।
सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्न नहुने पनि बताए । उनले मिटरब्याज पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने वाता दिए ।