• बैशाख २७ २०८३, आईतवार

गणतन्त्रमा पहिचानको आधारमा प्रदेशको नाम माग्दा ज्यान जानु दुखदः अशोक राई

चैत्र १२ २०७९, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष तथा सांसद अशोककुमार राईले नामांकनको विषयमा कोशी प्रदेशमा राज्यको तर्फबाट आन्दोलनकारीको ज्यान लिएको भन्दै दु:ख व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा उनले गणतन्त्रमा पहिचान माग्दा ज्यान जानु दुखद भएको बताए ।

‘यो दुखद र गम्भीर घटना हो। शान्तिपूर्ण ढङ्गले जनताले आफ्नो अधिकार माग्नु, पहिचान माग्नु नैसर्गिक अधिकार हो। हामीले संघीयता स्थापना गरेका छौँ। गणतन्त्र स्थापना गरेका छौँ,’ राईले भने, ‘तर यही गणतन्त्र भित्र पहिचान माग्ने आन्दोलनकारीहरुको ज्यान लिने प्रक्रिया अत्यन्त दुखद र निन्दनीय छ। यो परिस्थिति रोक्न सरकारलाई आग्रह गर्छु।’

तत्कालीन प्रदेश १ को नाम कोशी राखेपछि उक्त प्रदेशमा आन्दोलन चर्किएको छ। चैत ५ गते विराटनगरमा आयोजित प्रदर्शनमा आन्दोलनका नेता पदमकुमार लिम्बु लाजेहाङ प्रहरीसँगको झडपमा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो।