• बैशाख २७ २०८३, आईतवार

कम्युनिष्ट विचार नै छोडेका बाबुरामले गरे कम्युनिष्टहरूसहितको समाजवादी धारा निर्माण गर्ने दावी

चैत्र ११ २०७९, शनिबार

वीरेन्द्रनगर । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन् ।

पार्टीको कणर्ाली प्रदेश समितिको प्रशिक्षण भेलाका क्रममा सुर्खेत पुगेका उनले शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा माओवादी केन्द्रसँग मात्र नभई अन्य कम्युनिष्ट दलहरूसहितको एउटा समाजवादी धारा निर्माण गर्ने अवधाराणा बनाइएको बताए ।

यसका लागि बृहत् छलफल भइरहेको बताउँदै अध्यक्ष भट्टराईले केन्द्र सरकारले पूणर्ता पाएपछि एकताका विषयमा छलफल सुरू हुने जनाए । जबकी बाबुराम भट्टराईले यसअघि नै आफूले कम्युनिष्ट विचारधार छोडेको घोषणा गरिसकेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही तरिकाले अघि बढ्न नसकेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए । ‘वर्तमान सरकारसँग शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने अभिभारा छ। मुलुकलाई समृद्धिको दिशामा हाँक्नुपर्ने जिम्मेवारी छ,’ उनले भने ।

यो गठबन्धन दिगो हुनेमा भने अध्यक्ष भट्टराईले पूणर्रूपले विश्वस्त नरहेको तर्क गरे । राजनीति शक्ति केन्द्र भएकाले मुलुकमा कति बेला के हुन्छ भन्ने थाहा नहुने भन्दै उनले वर्तमान सरकार स्थिर भएर अगाडि बढ्न सकेमात्र देशले सही गति लिने बताए ।

पत्रकार भेटघाटकै क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध दायर गरिएको मुद्दा शान्ति प्रक्रियाको मर्म विपरीत भएको टिप्पणी गरे ।