• बैशाख २७ २०८३, आईतवार

‘कोशी’ नामाकरण विरुद्ध चलेको आन्दोलनप्रति ९ आदिवासी संगठनको समर्थन

चैत्र ११ २०७९, शनिबार

काठमाडौं । प्रदेश १ मा कोशी नामाङ्कनको विरोधमा चलिरहेको आन्दोलनलाई ९ वटा आदिवासी राजनीतिक संगठनहरूको गठबन्धनले समर्थन गरेको छ ।

ती राजनीतिक दलका नेताहरूले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी कोशी नाम खारेज गरी पहिचानसँग जोडिएको नाम नराखे देशव्यापी आन्दोलन चलाउने चेतावनी समेत दिएका छन् ।

पत्रकार सम्मेलनमा खम्बुवान राष्ट्रिय मोर्चा नेपालका अध्यक्ष आरके खम्बुले १ नम्बर प्रदेशको नाम कोशी नामकरण हुनु त्यहाँका आदिवासी जनताको पहिचानमाथि धावा बोल्नु समान भएको धारणा राखे ।

जनताले आफ्नो पहिचान गुमाएको महसुस गर्नु र त्यसको प्रतिवाद गर्नु स्वाभाविक रहेको बताउँदै उनले भने, ‘जनताले सो नामलाई शान्तिपूणर् तरिकाले अस्वीकार गर्दा राज्यले बल प्रयोग गरेर हत्या नै गर्नु त गलत भयो नि, त्यसको ठुलो मूल्य चुकाउनुपर्छ ।’ त्यसैगरी नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा.विजय सैजुले कोशीमा चलेको आन्दोलनमा आफूहरुको पूणर् सहमति रहेको बताए । उनले देशमा बहुपहिचान सहितको संघीयता लागू हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय ताम्सालिङ पार्टी अध्यक्ष बुद्धराज लामाले स्थानीय जनताको भावना र मर्म विपरीत भएको नामकरणमा पुनर्विचार गर्नुपर्नेमा जोड दिए । मगरात राष्ट्रिय पार्टी नेपालका अध्यक्ष इन्द्रबहादुर मगरले कोशी नामकरण खारेज नगरिए कोशीमा सल्किएको आगो देशभरी फैलिने चेतावनी दिए ।

सो पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरूले चैत ५ गते विराटनगरमा प्रहरी दमनबाट पदमबहादुर लिम्बुको मृत्यु भएको भन्दै मृतक लिम्बुलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरेका छन् ।

सो आन्दोलनलाई नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, बहुजन शक्ति पार्टी, थारुवान-थारुहट सङ्घर्ष समिति, राष्ट्रिय ताम्सालिङ पार्टी नेपाल, खसान राष्ट्रिय सङ्घर्ष समिति, मगरात राष्ट्रिय पार्टी नेपाल, लिम्बुवान पार्टी नेपाल, तमुवान राष्ट्रिय पार्टी नेपाल गरेर नौवटा आदिवासी राजनीतिक दलले समर्थन गरेका हुन् ।